नियम ३१
भिसा दस्तुर छुट

देहायका अवस्थामा देहायका व्यक्तिलाई नेपालभित्र प्रवेश वा उपस्थितिको लागि भिसा जारी गर्दा र भिसाको म्याद थप गर्दा भिसा दस्तुर छुट दिन वा मिनाहा गर्न सकिनेछ –
(क) कूटनैतिक वा औपचारिक भिसा प्राप्त गर्ने विदेशीलाई ।
(ख) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व भएको निकाय वा संयुक्त राष्ट्रसंघ वा क्षेत्रीय संगठन वा अन्य कुनै अन्तर्राष्ट्रिय संघ संस्था वा सो अन्तर्गतका निकायहरूद्वारा आयोजित सभा, सम्मेलन, प्रशिक्षण वा बैठकमा सहभागी हुन आउने विदेशीलाई ।
(ग) नेपालसंग दौत्य सम्बन्ध भएको मुलुकका प्रतिष्ठित व्यक्तिलाई ।
(घ) पारस्परिकताको आधारमा जुनसुकै मुलुकका नागरिकहरूलाई ।
(ङ) नेपाली बाबु आमा वा बाबु आमा मध्ये एक जना नेपाली भई निजहरूबाट जन्मेका १६ वर्षसम्मका विदेशी राहदानी प्राप्त सन्तानलाई ।
(च) नेपाली मूलको व्यक्तिले नेपालस्थित विदेशी नियोगबाट पहिलो पटक राहदानी लिएपछि विदेश प्रस्थान नगरुन्जेलसम्म त्यस्तो व्यक्तिलाई ।
(छ) नेपाल सरकारको छात्रबृत्ति वा नेपाल सरकारबाट बजेट विनियोजन भएको स्वीकृत कार्यक्रममा भाग लिन आउने वा नेपाल सरकारसँग भएको सम्झौतामा भिसा दस्तुर छुट दिइने उल्लेख भएका व्यक्तिहरुलाई ।
(ज) उडान रद्द भई नेपालबाट प्रस्थान गर्न नसक्ने व्यक्तिलाइ अर्को उडानबाट प्रस्थान नगरुन्जेलसम्मको अवधिका लागि ।
(झ) आफ्नोे काबु बाहिरको परिस्थितले गर्दा कुनै विदेशीले भिसामा तोकिएको अवधि भन्दा बढी अवधि बस्नु परेमा वा नियम २९ को उपनियम (१) बमोजिम नियमित गराउँदा ।